हाल प्रदर्शन भइरहेको चलचित्र ‘जय परशुराम’ मार्फत ५ बर्षपछि कमब्याक गरेका विराज भट्ट त्यसभन्दा अगाडी भोजपुरी चलचित्रमा व्यस्त थिए । लगालग सुपरहिट भोजपुरी चलचित्र दिएपछि उनलाई नेपाली चलचित्र खेल्ने फुर्सद नै भएन् । तर ५ बर्षपछि रोज राणाले नेपाली चलचित्र ‘जय परशुराम’ बाट विराजलाई कमब्याक गराए । त्यस्तै केही बर्ष अगाडी भोजपुरी चलचित्रमा समेत काम गरेका एक्शन नायक निखिल उप्रेतीले भने ७ बर्षपछि भोजपुरी चलचित्रमा कमब्याक गरेका छन् । केही बर्ष अगाडी नेपाली चलचित्र भैरव लिएर कमब्याक गरेका निखिल त्यसपछि भने लगातार नेपाली चलचित्रको छायाँकनमा व्यस्त छन् । त्यही क्रममा निखिलले एक भोजपुरी चलचित्रमा पनि काम गरेका छन् । माँ कमला फिल्म इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको भोजपुरी चलचित्र ‘मजाक’ को शनिबार राजधानीको अनामनगरस्थित मधेस मिडियामा फष्ट लुक सार्वजानिक गर्दै चलचित्र प्रदर्शनबारे जानकारी दिइएको हो। चलचित्र ‘मजाक’ फष्टलुकमा एक्सन नायक निखिल उप्रेतीलाई प्रहरीको भूमिकामा उतारिएको छ। सिरहाको बन्दीपुर, धनुषा, इलाम, धरान, महोत्तरी, सिन्धुलीलगायत काठमाडौंमा पनि छायांकन भएको यस चलचित्रमा नायिका समिता गिरीको प्रमुख अभिनय रहेको छ। चलचित्रमा निखिल र समिताको अलावा लालकिशोर यादव, अभिनाश यादव ,समिता गिरीको साथै भोजपुरीका चर्चित खलनायक अजय सिन्हा र राजेश यादवको पनि अभिनय छ। चलचित्रलाई मिथिलेश निसाधले निर्देशन गरेका हुन्।