फिल्म ‘दि ब्रेकअप’ आउँदो फागुन १७ बाट प्रदर्शनको लागी तयार छ। सार्वजनिक ट्रेलर तथा गीत संगीतले दर्शक तथा शुभचिन्तकहरुबाट लोकप्रियता बढाउँदै जाँदा निर्माण टिम यतिबेला प्रचार प्रसारलाई तिब्रता दिँदैछ। अर्थपुर्ण प्रचारलाई प्राथमिकता दिँदै निर्माण टिम आइतबार सरस्वती पूजा लक्षित कार्यक्रमका पुल्चोक इन्जिनियरिङ कलेज पुगेको थियो।
श्री पञ्चमीको उपलक्ष्यमा आयोजित एक कार्यक्रमका विधार्थीमाझ ब्रेकअप टिम पुग्यो। लिड अभिनेता आशिरमान देशराज जोशी, रेमनदास श्रेष्ठ र इच्छा कार्की स्टेज चढ्दा उपस्थित हजारौँ क्राउडले हुटिङ र ताली दिएको थियो। त्यसपश्चात नजिकिँदो ‘भ्यालेन्टाइन डे’ लक्षित गर्दै सुरुमै आशिरले लभ र ब्रेकअपको कुरा गरे।
निर्देशक हेमराज बिसी सहित उपस्थित युनिटले फिल्ममा समावेश ‘आज हाम्रो भेट भएको दिन’ बोलको गीतमा नृत्य पनि गर्यो। आशिर र इच्छाले स्टेजमा कम्मर मर्काउँदा दर्शक तथा विधार्थीहरुले साथमा साथ दिएका थिए। त्यसपछि आशिरका क्रेजी फ्यानहरु सेल्फी र अटोग्राफमा रमाए। एक युवती फ्यानले कापी र डायरीको अभावमा आफ्नो साथमा भएको एक हजारको नोटमै अटोग्राफ लिइन्।
कार्यक्रम पश्चात कुरा गर्दै आशिरले फिल्मको मुख्य कन्टेन्ट नै युवा लक्षित भएको भन्दै कलेज केन्द्रित प्रचारमा जोडिएको बताए। पछिल्लो पुस्ता प्रेमबाट टाढा नरहेको भन्दै आशिरले माया गर्ने जो कोहिको लागी पनि ‘दि ब्रेकअप’ मनोरञ्जनको उपयुक्त खुराक बन्ने बताए।
रुपक थापा, दीपक खतिवडा र रेनु राणाको निर्माणमा बनेको ‘दि ब्रेकअप’मा शिल्पा मास्के, सरोज खनाल लगायत लिड अभिनयमा छन्। फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको छ। नरेन्द्र मैनालीले छायाँकन गरेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्।