अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ले प्रदर्शनको दोस्रो दिन बम्पर व्यापार गर्न सफल भएको छ। शुकबार केहि कमजोर देखिएको व्यापार शनिबार भने निकै उच्च रह्यो।
शनिबार सिंगल थिएटर अधिकांश हाउसफुल बने। मल्टीप्लेक्समा पनि दर्शकको चाप उच्च रह्यो। वितरक मनोज राठीका अनुसार फिल्मले पहिलो दिन देशभरबाट ६० लाख ग्रस बटुलेको थियो भने दोस्रो दिन १ करोड २५ लाखको अंक छुने अनुमान गरिएको छ।
शनिबार दिउसोको शोमा दर्शकसँग अन्तरक्रिया गर्न अनमोलसहितको टिम गोपीकृष्ण मुभिज पुगेको थियो। गोपीकृष्णमा अधिकांश पर्दा हाउसफुल थिए। अनमोल हल पुग्दा दर्शकको भिड थामीनसक्नु थियो।
हलमा पुग्दा अनमोल नामको नारा घन्कियो। त्यसविच उनले दर्शकसँग सेल्फी लिँदै फुटबल उपहार दिए। अनमोलले नेपालको झण्डा बोक्दा राष्ट्रिय गानमा दर्शकले साथ दिए।
पोखरा, नारायणघाट, बुटवल, धरान, बिर्तामोड, बिराटनगर, नेपालगञ्ज र राजधानीका गुण, अष्ट, कलंकी, बाराहीलगायतका स्टेशनमा दर्शक भिड उल्लेख्य रह्यो।
दिवाकर भट्टराई निर्देशित ‘क्याप्टेन’मा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, विल्सनविक्रम राई, बुद्दि तामाङ लगायतको अभिनय छ। फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन्।