फिल्म ‘अघोरी’को औपचारिक निर्माण घोषणा गरिएको छ। बिहीबार काठमाडौंमा रहेको भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभ मुहूर्त पनि गरिएको छ। शुभ मुहूर्त कार्यक्रममा फिल्मको लागि पहिटो सट पनि लिइएको थियो। प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मीले मुहूर्त सट दिएका थिए।
‘बिलभ्ड इन्टरटेन्मेन्ट’का लागि राधादेवी कटुवालले निर्मामण गर्ने यस फिल्मलाई भेमन कटुवालले निर्देशन गर्नेछन्। एक्सन लभस्टोरी जनरामा निर्माण हुने यस फिल्ममा मुनम मल्ल ठकुरी, विन्दा तामाङ, सुरविर पण्डित, अनमोल कार्की, तारा शाही ठकुरीको मुख्य भूमिका रहनेछ। यसै चलचित्रबाट शारदा राज्यलक्ष्मी र मुनम मल्लले डेव्यु गर्न लागेका हुन्।
चैत १ गतेबाट छायांकनमा जाने यस फिल्मलाई पवन गौतमले खिच्नेछन्। झण्डै ३५ दिनको सुटिङ सेड्युअल लिएर फ्लोरमा उत्रन लागेको यो फिल्मको छायांकन काठमाण्डौं, मुस्ताङ, पूर्व तथा पश्चिमका केही भेगहरु र दुवईमा गरिनेछ। फिल्ममा दीपक शर्मा, ओम सुनार, सरोज कोइराला र सुमन राईको संगीत तथा राजु किरातको द्धन्द निर्देशन रहनेछ।
आगामी कात्तिकको छठ पर्वलाई रिलिज लक्ष्य राखिएको यो फिल्म झण्डै ७० लाखको बजेटमा निर्माण गर्न लागिएको हो।