बिहीवार राजधानी काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक होली पर्व मनाइँदैछ। बसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकअर्कामा रंग दलेर मनाउने गरिन्छ। फिल्म ‘यात्रा’ टिमले पनि एकआपसमा रंग दलेर होलीको शुभकामना आदान प्रदान गरेको छ।
फिल्मका कलाकार, निर्देशक, निर्माताले एकअर्कालाई रंग र अविर लगाएर मंगलवार होली मनाए। बिहीवार भने फिल्म यूनिट प्रचारको शिलशिलामा भक्तपुरमा हुने एक होली विषेश कार्यक्रममा सहभागी हुन पुग्दैछ। अभिनेता सलिनमान बनिया, डेब्यु गर्ल मलिका महत्त, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटाले एकअर्कालाई होलीको रंग लगाए।
निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द्व निर्देशक हिमाल केसीलगायतले पनि एकअर्कालाई रंग दलेर खुसी साटासाट गरे।
बिहीवार भने गैरीधाराको रोयल एम्पायर होटेल, सिटी फ्ल्याश स्विमिङ पुल भक्तपुरसँगै नयाँ वानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रममा सहभागी हुने निर्देशक शाक्यले बताए।
सलिन यसपटकको होलीलाई लिएर निकै उत्साहित छन्। ‘होली मलाई एकदम मनपर्ने पर्व हो तर प्रायः आफ्नै सर्कलमा मात्र मनाउने गरेको छु’, उनले भने- ‘यसपटक भने दर्शक र मिडियासँग होली मनाउदैछु, विभिन्न स्थानमा पुग्दैछु।’ उनले पहिलो पटक यसकिसिमको अनुभव होलीलाई लिएर संगाल्न लागेका हुन्। उनी अभिनीत फिल्म ‘यात्रा’ यही चैत २९ मा यो फिल्म रिलिज हुँदैछ।