बुधबार उपत्यका सहित पहाडी भेगमा होली मनाइयो। यस्तैमा, चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ स्टेशन’ टिमले पनि पोखरा पुगेर होली मनाएको छ। युवास्टार प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले एकअर्कालाई रंग र अविर दलेर होली पर्वको शुभकामना आदान प्रदान गरे। फिल्मका निर्माता गोविन्द शाहीले पनि आफ्ना नायक-नायिकालाई रंग दलेर होली मनाए।
मंगलबार पोखरा पुगेको ‘लभ स्टेशन’ टिम बुधबार दिउँसो पोखरा लेकसाइडमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको होली हंगामा कार्यक्रममा सहभागी भएको थियो। बुधबार बिहानै तालबहारी मन्दिर दर्शन गरेका प्रदीपले पोखराका दर्शकको माया सधैँ आफूलाई रहने विश्वास राखे।
नायिका जसिताका लागि भने यस वर्षको होली विषेश भएको बताइन। १३ वर्षपछि आफ्नो जन्मथलो पोखरामा होली मनाउन पाएकोमा उनी दंग थिइन्। यस्तै, निर्माता शाहीले पोखरा माया गर्नेहरुको स्टेशन भएका कारण पोखरेली दर्शकलाई ‘लभ स्टेशन’ मनपर्ने बताए।
उज्जवल घिमिरे निर्देशित यो फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले लगायतको अभिनय छ। आलोक शुक्लाको छायांकन रहेको फिल्ममा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ। यसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन छ।