वैशाख २० गतेबाट रिलिज हुन लागेको फिल्म ‘दाल भात तरकारी’को टिम अहिले मोफसल यात्रामा छ। सोमबार बिर्तामोडबाट कन्सर्ट गर्दै फिल्मको मोफसल प्रचार सुरु भएको हो।
कन्सर्टमा फिल्मका मुख्य कलाकारहरु हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, शिवहरि पौडेल, विल्सन विक्रम राई सहभागी छन्। यस्तै, गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल पनि मोफसल टुरमा सहभागी छन्।
कार्यक्रममा हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेलले दर्शकलाई फिल्मका विभिन्न संवाद तथा अन्य हास्यब्याङ्ग्यले मनोरञ्जन दिइरहेका छन् भने रामचन्द्र र जुनुले गीत गाइरहेका छन्। नायिका आँचल शर्माको नृत्य पनि आकर्षणको केन्द्र बनेको छ।
फिल्मको टिमले पूर्वका विभिन्न शहर र पश्चिमका विभिन्न शहरमा कन्सर्ट गर्नेछ। वैशाख ४ गते पोखरामा कन्सर्ट गरेपछि मात्र मोफसल यात्रा सकिनेछ। सुदन केसीको निर्देशनमा तयार भएको यस चलचित्रमा निरुता सिंह, पुष्प खड्का, वर्षा राउत लगायतको पनि मुख्य भूमिका रहेको छ।