फिल्म ‘कठपुतली’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। हरर जनरमा निर्मा भएको फिल्मको पोस्टरले फिल्मको मुख्य थिमलाई प्रष्टाएको छ। राजाको दरबार भित्र हुने क्रियाकलापलाई प्रस्तुत गरिएको ‘कठपुतली’को कथा पूर्ण काल्पनिक रहेको निर्माण पक्षले बताएको छ।
देशका प्रजा परिश्रम तर शासकले भने ऐश, आराम र मोजमस्तीको जीवन बिताउने क्रममा दिनदहाडै हुने बलात्कार र हत्याको घटनाबाट आजित महिलाहरुले लिने बदलाको कथा नै ‘कठपुतली’ रहेको लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लले बताइन्। उनका अनुसार यो फिल्म हरर भएता पनि पूर्णतया मौलिक रहेको छ।
भिमसेन लामाले निर्देशन गर्ने यस फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुबर्ण थापा लगायतको अभिनय रहनेछ। सार्वजनिक पोस्टरमा रिलिज मिति तय नभएपनि फिल्मलाई यसै वर्ष रिलिज गर्ने योजनामा निर्माण पक्ष रहेको छ।