असार २० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सानो मन’को शिर्ष गीत सार्वजनिक भएको छ। आइतबार रिलिज गरिएको उक्त गीतले फिल्मको थिमलाई बुझाउन खोज्छ।
सार्वजनिक गीतमा आयुष्मान देशराज जोशी र शिल्पा मास्केको प्रेम झल्किन्छ। सुयोग सोताङ्गको संगीत रहेको गीतमा रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द रहेको छ।
सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस फिल्ममा आयुष्मान र शिल्पासँगै सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ।
ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो। सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन्। समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस फिल्मलाई आलोक शुक्लले छायांकन गरेका छन्।
काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मलाई योगेश गुरुङ, राजिव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरले संयुक्त रुपमा निर्माण गरेका हुन्।