भदौ ६ गतेलाई रिलिज डेट तय गरेको फिल्म ‘हजार जुनीसम्म’को एक गीतमा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आइटम नृत्य गरेकी छिन्। गीतमा दीपासँग नायक आर्यन सिग्देलले नृत्य गरेका छन्। यस्तैमा निर्माण पक्षले आर्यन र दीपाको नृत्य रहेको गीतको केहि तस्वीर सार्वजनिक गरेको छ। भिडियोमा शिवहरी पौडेल पनि छन्।गीतमा दीपाले ‘भट्टीको साहुनी’को रुपमा आइटम नृत्य गरेकी छिन्। यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ। गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी लगायतलाई यो भिडियोमा देख्न सकिने छ।
‘आज नगद भोली उधारो’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत, प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ। कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन्। निर्माण टिमका अनुसार फिल्मको गीत चाडै सार्वजनिक गरिने बताइएको छ।‘नाई नभन्नु ल’ सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन्। फिल्ममा संचिता लुइँटेल, अनुभव रेग्मीलगायतको पनि अभिनय रहेको छ। यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ। कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन्।