निर्माता तथा कलाकारका रुपमा परिचित नाम हो, भानु प्रताप ढकाल। थुप्रै फिल्ममा खलपात्रको रुपमा अभिनय गरेका ढकालले ‘लालटिन’ फिल्मको निर्माण पनि गरेका छन्।
हाल अष्ट्रेलियामा रहेर नेपाली फिल्मको प्रदर्शन र प्रवद्धन गरिरहेका भानु प्रतापले ‘बुलबुल’ र ‘पण्डित बाजेको लौरी’लगायत फिल्मलाई अष्ट्रेलियावासी नेपाली फिल्म प्रेमी दर्शकहरुका माँझ पस्किसकेका छन्। भविष्यमा पनि नेपाली फिल्मको बिदेशी बजार खोज्न लालायित छन् भानु प्रताप ढकाल।
यसैबिच उनले एक म्युजिक भिडियोमा पनि लगानी गरेका छन्। रमाईलो कुरा, ढकालले लगानी गरेको यो गीत नेपाली हैन, हिन्दी हो। नेपाली भएर हिन्दी गीतको म्युजिक भिडियो किन ? भन्ने प्रश्नमा उनले भने, ‘कला र साहित्यको कुनै भुगोल हुँदैन, हामी नेपाली हिन्दी चलचित्र र संगीतलाई पनि उत्तिकै हेर्छौ र सुन्छौं भने निर्माणमा किन कन्जुस्याई गर्ने ?’
उनले निर्माण गरेको ‘क्या क्या’ बोलको गीतलाई प्रभात यादवले गाएका हुन्। मनोज अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा पुष्कर गौतम, रोजी पन्त, दिपा श्रेष्ठको अभिनय रहेको छ। भानु प्रताप र अमर रसाईलीको संयुक्त लगानीमा बनेको गीत अष्ट्रेलियाकै सुन्दर लोकेशनहरुमा खिचिएको छ।