आशुतोष राज श्रेष्ठ निर्देशित फिल्म ‘जाइरा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले फिल्म बदलाको कथामा केन्द्रित रहेको प्रस्ट्याउँछ। २ मिनेट १ सेकेण्ड लामो ट्रेलर इन्गेजिङ्ग छ।
यो फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन्। ट्रेलरमा देखिएको उनको लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता बढाउने निश्चित छ। फिल्मका लागि उनले आफ्नो कपाल तिलाञ्जली दिएकी थिइन्। फिल्मको ट्रेलरमा भर्सटायल अभिनेता प्रमोद अग्रहरीको लुक्स र गेटअपले पनि ध्यान खिच्न सफल छ।
भाद्र ६ गते प्रदर्शन हुने ‘जाइरा’मा नम्रता र प्रमोदसँगै अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन्। निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन्। प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्राचार्यको सम्पादन छ।
अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानर तथा कटामरी फिल्मसको सहकार्यमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ।