छायांकनको लागि युरोप पुगेको फिल्म ‘लप्पन छप्पन २’को टोली फिल्मको छायांकन नै नगरी नेपाल फर्किएको छ। फिल्मको लागि जम्बो कलाकारको टोली युरोप पुगेको थियो। तर, निर्देशक र निर्माताविच समन्वय नहुँदा फिल्मको छायांकन हुन सकेन।
फिल्मको छायांकन युरोप र अष्ट्रेलियामा गर्ने बताइएको थियो। पहिले युरोपमा छायांकन सकेर अष्ट्रेलिया जाने योजनामा कलाकार युरोप पुगेका थिए। तर, नेपालमा रहेका निर्देशक मुकुन्द भट्ट र यूरोपमा रहेका निर्माताहरु देवु श्रेष्ठ र चिजकुमार श्रेष्ठबीच प्रष्ट कुरा नहुदाँ फिल्मको छायांकन हुन नसकेको हो।
नेपालबाट क्यामेरा नलगिएका कारण पनि छायांकनमा समस्या आएको हो। नेपालबाट क्यामेरा नलगेपछि छायांकार पुरुषोत्तम प्रधान पनि युरोप गएनन्। उतै, क्यामेराको व्यवस्था गर्ने सोच लिएर टिम युरोप पुगे पनि त्यो व्यवस्था हुन सकेन।
फिल्म छायांकनका लागि कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, सुरविना कार्की, नम्रता श्रेष्ठ लगायतको टोली युरोप पुगेको थियो।