फिल्म ‘छ माया छपक्कै’को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार युट्युबमार्फत् ‘जुनको जुनेली’ बोलको गीत सार्वजनिक गरिएको हो। लोकशैलीमा तयार गरिएको यस गीतमा वसन्त थापा र मिना निरौलाको स्वर छ। राजेन्द्र थापाको शब्द रहेको गीतमा गायक वसन्तकै संगीत छ।
कविराज गहतराजको नृत्य निर्देशनमा रहेको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्ट फिचर्ड छन्।
गीत सार्वजनिकसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ। फिल्म असोज २४ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको यस फिल्ममा निर्देशक लामाकै कथा रहेको छ भने लेखन दीपकराज गिरीले लेखेका हुन्। आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईबीच सहकार्य भएर निर्माण भएको यस फिल्ममा रोहित अधिकारीको लगानी रहेको छ। हरि हुमागाईंको छायांकन रहेको भिडियोमा विपिन मल्लको सम्पादन छ।