फिल्म ‘रातो टिका निधारमा’को शिर्ष गीत रिलिज भएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘रातो टिका निधारमा’ बोलको गीत पुरानो फिल्म ‘अल्लारे’को गीत रिमेक गरी तयार गरिएको हो।
गीतको भिडियोमा फिल्मका प्राय: कलाकार फिचर छन्। वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नव–कलाकार अंकित शर्मा, नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार बुद्दि तामाङ, कलाकारहरु बसुन्धरा भुषाल, अरुणा कार्की लगायत भिडियोमा देख्न सकिन्छ।
शम्भुजित बास्कोटाको संगीत, सहदेव ढुंगानाको शब्द रहेको यस गीतको रिमेकमा प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन्। पुरानो गीतमा भने उमेश पाण्डे र रमना श्रेष्ठको स्वर थियो। पुरानो भिडियोमा राजेश हमाल र करिश्मा मानन्धरले नृत्य गरेका थिए।
असोजको १० गतेबाट रिलिज हुन लागेको यो फिल्मलाई अशोक शर्माले लेखन तथा निर्देशन गरेका हुन्। किरण शर्मा र कृती शर्माको निर्माण रहेको यस फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ।