फिल्म ‘रातो टिका निधारमा’बाट अंकित शर्माले डेब्यु गर्दैछन्। अहिले अंकित आफ्नो डेब्यु फिल्मको प्रचारमा व्यस्त छन्। फिल्मको प्रचारको लागि अंकित आफ्नो टिमसँग आफू पढेको विद्यालय पुगेका छन्। काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा सोमबार अंकितसहितको टिम पुगेको हो।
अंकितसँगै फिल्मकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि उक्त विद्यालय पुगेकी थिइन्। त्यहाँ पुगेर उनीहरुले फिल्मको विषयमा जानकारी दिएका छन्। अभिनेताद्वय बुद्दि तमाङ र रविन्द्र झाले दशैँको अवसरमा स-परिवार मिलेर ‘रातो टिका निधारमा’ हेरिदिन आग्रह गरे।
निर्देशक अशोक शर्माले यसपटक सम्पूर्ण नेपालीको मन छुने कथा पस्केको र सबै नेपालीले हलसम्म पुगेर मनोरञ्जन लिने कुरामा आशा व्यक्त गरे।
असोज १० गते रिलिज हुने यस फिल्ममा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन्।