कार्तिक ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पोई पर्यो काले’ अहिले प्रचार-प्रसारमा व्यस्त छ। प्रदर्शनको केहि दिनमात्र बाँकी रहदा फिल्म युनिट शुक्रबार चितवन पुगेको छ। शुक्रबार चितवन पुगेको टिमले भरतपुरमा पत्रकार सम्मेलन गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक शिशिर राणाले ‘पोई पर्यो काले’ कमेडी शैलीको सामाजिक कथाबस्तुमा आधारित भएको बताएका छन्। उनले भने, ‘समाजमा मानिसको बाहिरी रुप मात्र हेरिने गलत प्रवृतिमाथि फिल्म निर्माण गरेका छौँ। बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश फिल्मले दिन्छ।’
नायिका पूजा शर्माले आफुले गरेको अन्य फिल्म भन्दा ‘पोई पर्यो काले’ फरक भएको बताइन्। लभ स्टोरी जनराको फिल्म गरिरहेको अवस्थामा ‘पोई पर्यो काले’ कमेडी जनरको फिल्ममा काम गर्न पाएकोमा पूजा खुसी छिन्।

नायक आकाश श्रेष्ठले लभ स्टोरी जनराबाट कमेडी जनराको फिल्ममा काम गर्दा धेरै चुनौती महसुस गरेको बताए। उनले पहिलो पटक कमेडी जनराको फिल्ममा काम गर्दा धेरै नै मेहनत गरेको र त्यसको फल पनि राम्रै पाउने विश्वास व्यक्त गरे।
फिल्ममा पूजा र आकाशसँगै सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ। निर्देशक राणाकै कथा रहेको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्। फिल्मका निर्माता राजिव गुरुङ ‘दिपक मनाङे’ र सरोज नेपाली हुन्। अमलादेवी राई कार्यकारी निर्माता रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन्।