केही दिन अगाडिमात्र सफल फिल्म ‘क्रिस’को चौथो फ्रेन्चाइज ‘क्रिस ४’ निर्देशनको लागि निर्देशक संजय गुप्ता पक्का भएको समचार बाहिरिएको थियो। तर, उक्त कुरा मिथ्या भएको छ। क्रिस ४ को निर्देशक तीन फ्रेन्चाइज निर्देशन गरेका राकेश रोशनले नै गर्नेछन्।

राकेशले नै उक्त फिल्म आफैँ निर्देशन गर्न लागेको बताएका हुन्। बलिउड मिडियासँग कुरा गर्दै उनले भनेका छन्, ‘मिडियामा आएका विभिन्न गसिपहरु देखेर मलाई हासो लाग्छ। मैले अहिलेसम्म संजय गुप्ताले फिल्म निर्देशक गर्दैछन् भनेको छैन्। यस फिल्मको निर्देशन म आफैँ गर्दैछु।’
राकेशले संजय आफ्नो टिममा भएको खुलाएका छन्। ‘हो, संजय र म मिलेर फिल्मको स्कृप्ट लेखिरहेका छौँ। हामी कसरी राम्रो गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित भएर मेहनत गरिरहेका छौँ’, राकेशले भने, ‘उसले निर्देशन गर्ने केही कुरै भएको छैन्।’
राकेश आफू संजयको कामबाट निकै प्रभावित भएको बताउँछन्। उनले भने, ‘संजयले काविलमा धेरै राम्रो काम गरेको छ। म उसको कामबाट निकै सन्तुष्ट छु। अहिले सँगै काम गर्न पाउँदा मलाई खुसी लागेको छ।’
फिल्मको स्कृप्ट तयार भएपछि मात्र निर्माण घोषणा गर्ने राकेशको भनाई छ। उनले भने, ‘जब मलाई सत प्रतिशत स्कृप्ट चित्त बुझ्छ तब मात्र घोषणा गर्नेछु।’ फिल्मको मुख्य अभिनेताको रुपमा ऋतिक रोशन तयार भइरहेका छन्।
यस वर्ष ऋतिकको लागि पनि सुखदायी वर्ष बनेको छ। उनी अभिनित ‘सुपर ३०’ र ‘वार’ले बक्स अफिसमा निकै राम्रो व्यापार गर्न सफल भए। दुबै फिल्मको सफलताबाट ऋतिक खुसी छन्।