नायक विराज भट्टको डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘साङ्लो’को पहिलो गीत सार्वजनिक भएको छ। बिहिबार युट्युबमार्फत् फिल्ममा समावेश गीत ‘चरीले काफल’ बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक उक्त गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने स्वरमा राजनराजलाई मिलन नेवारले साथ दिएकी छिन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायक विराज भट्ट र नायिका निकिता चण्डकलाई फिचरिङ गरिएको छ।
लोक लयमा तयार भएको गीतमा उनीहरुलाई छमछमी नचाइएको छ। कवराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोको लागि निर्माण टिमले निकै मिहिनेत गरेको देखिन्छ।
विराजको डेब्यु निर्देशनमा बनेको ‘साङ्लो’ माघको २४ गतेबाट रिलिज हुँदैछ। फिल्ममा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला लगायतको पनि अभिनय छ।
शिवम् अधिकारीले लेखेको यो फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ।