जेठी श्रीमती हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि फरार रहेका निर्माता छविराज ओझा मंगलबार जिल्ला अदालत काठमाडौं हाजिर भए। मंगलबार अदालत पुगेका निर्माता ओझा साधारण तारेखमा छुटेका छन्।

न्यायधीश मुकेश उपाध्यायको एकल इजालसले निर्माता ओझालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।
आफूसँग डिभोर्स नै नगरी श्रीमान् ओझाले शिल्पा पोखरेलसँग विवाह गरेको भन्दै हेमाले दुबै विरुद्ध गएको साउन ६ गते प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन्। उनको उजुरीको आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो।
अदालतले पक्राउ गर्न आदेश दिएसँगै छवि र शिल्पा फरार थिए। गएको कात्तिक अन्तिममा जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी शिल्पालाई अदालतले साधारण तारेखमा छाडेको थियो भने अहिले छवि पनि साधरण तारेखमा छुटेका छन्।