भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘बृन्दावन’ ले आफ्नो प्रचारलाई आक्रामक बनाइरहेको छ । शिल्पा पोख्रेल र किशोर खतिवडाको प्रमुख भुमिका रहेको चलचित्र ‘बृन्दावन’ यूनिटले सोमबार राजधानीमा ‘तीज विशेष कार्यक्रम’ को आयोजना गरेको थियो। काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा चलचित्रका निर्माता, निर्देशकका साथमा कलाकारहरु सहभागी भएका थिए । कार्यक्रम हेर्नका लागि सभा गृहको हलमा दर्शक उलेख्य उपस्थित थिए । तिज विशेष कार्यक्रममा चलचित्र बृन्दावनको ट्रेलर, गीत पनि प्रस्तुत गरिएको थियो भने केही कलाकारहरुले चलचित्रको गीतका नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चलचित्रका मुख्य कलाकार शिल्पा पोख्रेल र किशोर खतिवडा उपस्थित भएनन् । शिल्पाले आउँछु भनेर पनि कार्यक्रममा सहभागीता नजनाएपछि निर्देशक राजबहादुर साने केही आक्रोशित देखिएका छन् । उनले आफूहरु नयाँ निर्माता र मेकर भएकाले नायिका र नायकले वेवास्ता गरेको गुनासो पोखे । चलचित्र बन्दावन ४५ प्रतिशत एक्सन र बाँकी प्रेमका साथमा विभिन्न कुराले बुनिएको बताइएको छ । चलचित्रमा बाँदरको पनि मुख्य भुमिका रहेको छ । त्यस्तै सोमबार मात्र चलचित्र बन्दावनले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट दिएको थियो । अब चलचित्र १६ बर्षभन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नु पर्नेछ ।