संगीतिक क्षेत्रका स्थापित गायक प्रकाश सपुतले फिल्ममान डेब्यु गर्ने भएका छन्। फिल्म ‘परदेशी’को दोस्रो सिरिज ‘परदेशी २’बाट उनले ठुलो पर्दामा डेब्यु गर्न लागेका हुन्। फिल्मको लागि प्रकाशसँग कागजी सम्झौता भइसकेको छ।

प्रकाशलाई सानै उमेरदेखि फिल्ममा काम गर्ने रुचि थियो। फिल्मको पर्दामा हिरो बनेर चिनिने लक्ष्य सहित काठमाडौं छिरेका प्रकाश गायक बनेर चिनिए।अब आफ्नो रहर पूरा गर्नलाई भएपनि उनी फिल्ममा काम गर्दैछन्।
प्रकाश आफ्नो रहर पूरा गर्न मात्र फिल्ममा काम गर्न तयार भएका भने होइनन्। फिल्मको विषयबस्तु र टिम राम्रो पाएपछि फिल्ममा काम गर्न राजी भएको प्रकाश बताउँछन्।
नारायण रायमाझीले निर्देशन गर्ने ‘परदेशी २’ले वैदेशिक रोजगारमा लागेका युवाहरुको कथा भन्नेछ। फिल्ममा प्रकाशको जोडी को हुने भन्ने पनि पक्का भइसकेको छैन्। नायिका पक्का भएपछि फिल्मको औपचारिक घोषणा गरिने छ।