चलचित्र प्राविधिक संघ (नेफ्टा) को आयोजनामा हुँदै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा भएको छ। सोमबार एक कार्यक्रमको आयोजना गर्दै दशौं नेफ्टा अवार्डको घोषणा गरिएको हो। नेफ्टा अवार्डको दशौँ संस्करणलाई नेफ्टा र ड्रिम हाइ नेपाल प्रा.लि.ले आयोजना गरेको छ।

देश तथा विदेशी भुमीमा गरी ऐतिहासिक रुपमा नवौं संस्करण पार गरेको नेफ्टाले पछिल्ला दुई बर्ष अवार्ड आयोजना गरेको थिएन। संघ अध्यक्ष पुष्कर लामाले नेपालमा चलचित्रसँग सम्वद्ध अवार्ड कार्यक्रमको संख्यामा बढोत्तरी भइ अवार्ड शब्दकै गरिमा हराउने अवस्था आएको, आकर्षण कम हुँदै गएको कारण नेफ्टाले पछिल्ला दुई बर्ष अवार्ड कार्यक्रमलाई निरन्तरता नदिएको बताए।
नेफ्टा अवार्ड यो पटक काठमाडौंमा नै आयोजना हुनेछ। नेपाल सरकारले भ्रमण बर्ष (भिजिट नेपाल २०२०) मनाइरहँदा त्यसलाई मध्यनजर गर्दै नेपालमै कार्यक्रम गर्न लागेको लामाले बताए।
अवार्ड कार्यक्रम आगामी चैत्र १५ गते राजधानीको मुटु टुंडिखेलमा आयोजना हुने घोषणा पनि कार्यक्रममा गरिएको छ। नेफ्टा फिल्म अवार्डमा विभिन्न ३२ प्रतिस्पर्धी विधासँगै पपुपर चलचित्र, पपुपर अभिनेता, पपुपर अभिनेत्री, बर्षको उत्कृष्ट जनजाती चलचित्र र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल ३७ विधा समावेश हुनेछन्।