अभिनेता भुवन केसी नयाँ फिल्म बनाउने भाग दौडमा छन्। छोरा अनमोल केसीलाई मुख्य भूमिकामा लिएर उनले फिल्म ‘एन्टी हिरो’ बनाउने तयनरी गरिरहेका छन्। यस फिल्ममा भुवन आफैँ पनि खलपात्रको रुपमा प्रस्तुत हुदैँछन्।
बाउ-छोरा नै फिल्ममा देखिने भएकाले यस फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ। यस्तैमा टिममा नयाँ हिरोइनको इन्ट्रि भएको छ। यस फिल्मको लागि निर्माण पक्षले नायिका जसिता गुरुङलाई पक्का गरेको हो। बुधबार भुवन केसी र जसिता गुरुङबीच कागजी सम्झौता भइसकेको छ।
अहिले अनमोल फिल्म ‘ए मेरो हजुर ४’को तयारीमा छन्। यस फिल्मको छायांकन सकिएपछि अनमोलले आफ्नो होम प्रोडक्सनको फिल्मलाई समय दिनेछन्।
उता जसिता पनि रेनशा वान्तवा राईको फिल्म ‘आइ एम ट्वन्टी वान’को तयारीमा छिन्। यस फिल्मको छायांकन सकिएपछि ‘एन्टी हिरो’लाई समय दिनेछिन्।
फिल्मको लागि अहिलेसम्म निर्देशक पक्का भएका छैनन्। बुझिए अनुसार यस फिल्मलाई बलिउडमा निर्देशकले निर्देशन गर्नेछन्। अहिले फिल्मको स्कृप्टमा काम भइरहेको छ। फिल्मको छायांकन बैशाख १ गतेबाट सुरु हुनेछ।