चैत्र २८ गते रिलिज हुने फिल्म ‘चपली हाइट ३’को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार एक कार्यक्रम गर्दै फिल्ममा समावेश ‘चारानाको मसला’ बोलको गीत सार्वजनिक गरिएको हो।
राज खम्बु र अस्मिता अधिकारीको स्वर रहेको यस गीतमा डीपी खनालको शब्द तथा सुवाष भुषालको संगीत सुन्न सकिन्छ।
काठमाडौंकै एक क्लवमा खिचिएको भिडियोमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम र महेश त्रिपाठी फिचर भएका छन्। प्रदिप लामा र दि नेक्स्ट टिमले कोरियोग्राफी रहेको भिडियोमा प्रदीप र टीमलाई पनि फिचर गरिएको छ।
निकेश खड्काको निर्देशनमा तयार भएको यस फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन्। सस्पेन्स थ्रीलर कथामा तयार भएको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन रहेको छ।