संचारकर्मी फुलमान वलको निर्देशनमा बनेको फिल्म ‘नीरफूल’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा दयाहाङ राई, शान्ती वाइवा लगायतलाई फिचर गरिएको छ।
सार्वजनिक चार पोस्टरमा रुबी भ्याली र काठमाडौंको लोकेसनलाई देखाइएको छ। रुवी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेम देखाइएको छ। भुकम्पपछिको काठमाडौंलाई पनि समेटिएको पोस्टरमा चरित्रहरुको संघर्ष र विछोड देखाइएको छ।
भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्ममा दयाहाङ र शान्तिसँगै रेखा थापा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राजको पनि अभिनय रहेको छ।
गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन्। फिल्ममा सचिन एशोसिएट निर्देशकको रुपमा रहेका छन्।
प्रमोद कार्कीले छायांकन गरेको यस फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्। फिल्मले फागुनको ३० गतेलाई रिलिज मिति तय गरेको छ।