अभिनेता विराज भट्टको फिल्म रिलिजको तयारीमा छ। रिलिज मिति नजिकिदै गर्दा यस फिल्मको एक गीतलाई लिएर निकै विवाद भयो।
फिल्ममा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतको शब्द चोरिएको भन्दै निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिए। उनले यस गीत आफूले लेखेको तर आफ्नो नाम बीना नै यस फिल्ममा राखिएकाले उजुरी दिएका थिए
फिल्मलाई गीत चोरीको आरोप लागेपछि मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै अभिनेता विराजले फिल्म रिलिजको बेला गीतको विवाद झिकेर आफूलाई ‘ब्ल्याक मेलिङ’ गर्न खोजिएको गुनासो गरेका छन्। सहमतिको प्रयास गर्दा निर्देशक सिंहले ठूलो रकम मागेर आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको विराजको भनाई छ।
उनले भने, ‘मैले सुरेश अधिकारीबाट गीत लिएको हुँ। उहाँले कहाँबाट गीत लिनुभएको हो मलाई थाहा छैन। मेरो चाहिँ के गल्ती छ र गीतको क्षतिपूर्ती दिनु ? मैले हिजो उहाँ (सुदीप भुपाल सिंह) सँग सहमतिको प्रयास गरेको थिएँ। तर, उहाँले १०/२० लाख पाए मात्र सहमति गर्न सकिन्छ भन्दै ‘ब्ल्याकमेलिङ’ गर्न खोज्नुभयो। के एउटा निर्दोष मान्छेलाई ‘ब्ल्याकमेलिङ’ गर्नु उचित हो ?’ कानुनले गीत हटाउन निर्देशन दिए आफू गीत हटाउन पनि तयार भएको विराज बताउँछन्।
विराजसँगै पत्रकार सम्मेलनमा उपस्थित भएका संगीतकार अधिकारीले गीतमा गायक निशान भट्टराईको नाम रचनाकारमा पर्नुमा प्राविधिक त्रुटी रहेको बताए। उलने निर्देशक सिंहसँग सहमति पनि भइसकेको जानकारी दिए। उनले आफ्नो कारणले यूट्युबमा गीतकारमा निशानको नाम नलेखिएको पनि स्पष्ट पारे। गीतको रचनाकार आफू र निर्देशक सिंह रहेको उनको भनाई छ।