फागुणको ९ गतेबाट फिल्म ‘आमा’ रिलिज हुँदैछ। शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्।
फिल्ममा मिथिला शर्मा शिर्ष भूमिकामा छिन्, भने छोरीको भूमिकामा नायिका सुरक्षा पन्तले काम गरेकी छिन्। फिल्म ‘आमा’को ट्रेलरले दर्शकमा एक प्रकारको तरंग पैदा गरिसकेको छ।
यो फिल्मको व्यापार राम्रो हुनका लागि वर्ड अफ माउथमा भर पर्नुपर्छ। किनकी, यसमा नाम चलेका स्टार कलाकार छैनन्। मिथिला शर्मा र सुरक्षा पन्तको अभिनयले दर्शकलाई छुने विश्वास गर्न सकिन्छ। ट्रेलरले यसको झलक दिइसकेको छ। तर, हलसम्म पुगिसकेपछि मात्र दर्शकले यसको महशुश गर्न पाउनेछन्।
फिल्म माथि भरोसा हुनुको मुख्य कारण, यसका निर्देशक खनाल हुन्। उनले निर्देशन गरेको फिल्म ‘पशुपति प्रसाद’ले दर्शकमा उनीमाथि भरोसा गर्ने बलियो आधार खडा गरिदिएको छ। यसपछि, दीपेन्द्रले केहि कमर्सियल फिल्म निर्देशन गर्ने सुर गर्दा लय विगारेका थिए। अहिले, उनी ‘आमा’बाट सोही लयमा फर्किएका छन्।
दीपेन्द्र आफैले पनि फिल्म ‘पशुपति प्रसाद’ हेरेर तृप्त बनेका दर्शकका लागि ‘आमा’ अर्को मन छुने फिल्म हुने बताइसकेका छन्। यसैले पनि ‘आमा’को कथा र दीपेन्द्रको निर्देशनमाथि भरोसा गर्ने आधार छ।
नेपाली फिल्मले आफ्नै कथा भन्न सकेको छैन। ‘आमा’को कथामा दर्शकले आफ्नोपन पाउने विश्वास गरिएको छ। फिल्म ‘आमा’ निर्देशक खनालका लागि चुनौती र अवसर दुबै हो।