गत शुक्रबारबाट दुई फिल्म रिलिज भए। विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ्ग’ र विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’ गत शुक्रबार रिलिज भएका फिल्म हुन्।
आशा गरिएका यी फिल्मले सुख्खा भएको हलमा दर्शक फर्काउने आश गरिएको थियो। के दर्शक फर्काउन सफल भए त यी फिल्म ?
शनिबारको व्यापारलाई हेर्ने हो भने यी फिल्मले केही हदसम्म दर्शक फर्काउन केही हदसम्म सफल भएको देखिन्छ। मल्टिप्लेक्स हलहरुमा फिल्म ‘सेल्फी किङ्ग’ र सिंगल थिएटरहरुमा साङ्लोले दर्शकको उत्साह जनक साथ पाएका छन्।
फिल्म सेल्फी किङ्ग हेर्न दर्शक मल्टिप्लेक्स हलमा पुगेका छन्। फिल्मले हाउसफुलको व्यापार गर्न नसके पनि दर्शकको भने राम्रै साथ पाएको छ। दर्शकको प्रतिकृया पनि उत्साहजनक नै छ। निर्माण पक्ष फिल्मको व्यापार र प्रतिकृयाबाट खुसी छन्।
उता, विराजको क्रेज सिंगल थिएटरमा गज्जबको देखियो। विराज हल पुग्दा उनलाई बोक्ने देखि उनको नाममा हुटिङ दिने, सिठ्ठी फुक्ने दर्शकको जमात बाक्लो थियो।
कुनै समय फिल्म क्षेत्रमा राम्रो स्टारडम बनाएका विराजले आफ्नो क्रेजलाई अहिलेको पुस्तमा पनि स्थापित गरेका छन्। धेरैले विराजको एक्सनको तारिफ गरे। सिंगल थिएटरमा फिल्मले हाउसफुलको व्यापार गरिरहेको छ।
हास्यकलाकारको कथालाई प्रस्तुत गर्ने फिल्म ‘सेल्फी किङ्ग’लाई विशाल सापकोटाले निर्देशन गरेका हुन्। फिल्मलाई दिनेश राउत र सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेका छन्। फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल लगायतको मुख्य भूमिका रहेको छ।
साङ्लोलाई भने विराज आफैँले निर्माण तथा निर्देशन गरेका हुन्। फिल्ममा निकिता चण्डक, प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी लगायतको मुख्य भूमिका रहेको छ।