चैत २१ गतेलाई रिलिज मिति लक गरेको फिल्म ‘लक्का जवान’को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनि ‘मुसुक्कै हाँसन माया’ बोलको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ। गीतमा बाबुलसँगै जुना रिजाल काफ्लेले पनि स्वर दिएकी छिन्।
सार्वजनिक भिडियोमा दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटीले कम्मर मर्काएका छन्। भिडियोमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन्।
शिवहरि पौडेलले निर्देशन रहेको फिल्मको कथा, पटकथा तथा संवाद पनि शिवहरि आफैँले तयार गरेका हुन्। कमेडी जनरमा निर्माण भएको फिल्ममा किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतको अभिनय रहेको छ।
किरण केसीको प्रस्तुतीमा तयार भएको यस फिल्ममा अनसुया श्रेष्ठको लगानी रहेको फिल्ममा किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माताको रुपमा छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन्।