धुर्मुस-सुन्तलीको निर्माण रहेको फिल्म ‘सेन्टि भाइरस’को प्रमोशनल गीतको छायांकन सकिएको छ। प्रचार-प्रसारमा सहयोग पुग्ने हिसाबले ‘पार्टि जिताइदे’ बोलको गीतको छायांकन गरिएको हो।
चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा गीतको छायांकन गरिएको हो। दीपक आचार्य निर्देशित भिडियोमा फिल्मका मुख्य कलाकार कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन बिक्रम राईलाई देख्न सकिनेछ।
भिडियोमा राजनितिक पार्टिको प्रचार तथा दुईपार्टि बिचको झै-झगडालाई देखाइएको छ।
फागुन ९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा दयाहाङ राई, सिताराम कट्टेल, बुद्धि तमाङ लागयतको पनि मुख्य भूमिका रहेको छ। फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ।
२ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन्। फिल्मका सहनिर्माता फूर्पा लामा हुन्। कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन्।
फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ।