कोरोनाको त्रासका कारण डेढ महिनासम्म सिनेमा हल बन्द हुने भएको छ। उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समिती’को बुधबार बसेको बैठकले डेढ महिना सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ। बिहिबारबाट बन्द हुने हलहरु अप्रिलको ३० सम्म बन्द हुनेछन्।
डेढ महिनासम्म हल बन्द हुदाँ रिलिजको तयारीमा रहेका धेरै फिल्मलाई असर गर्ने देखिएको छ। यसअघि नै फागुन ३० मा रिलिज हुने भनिएको ‘म यस्तो गीत गाउँछु २’, चैतको ७ गते रिलिज हुने भनिएको फिल्म ‘नीरफूल’, चैत २१ लाई रिलिज मिति पक्का गरेको ‘लक्का जवान’ र चैत २८ गते रिलिज हुने फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन स्थगन गरिसकेका छन्।
अब भने चैत २८ मा नै रिलिज हुने भनिएका २ फिल्म ‘चपली हाइट ३’ र ‘प्रेमगीत ३’ पनि सर्न बाध्य भएका छन्। त्यस्तै, बैशाखको १२ गतेलाई रिलिज मिति तय गरिएको फिल्म ‘लप्पन छप्पन २’ र ‘हिजो आजका कुरा’को पनि प्रदर्शन मिति पछि सर्ने निश्चित नै भएको छ।
कोरोनाको नेपालमामात्र होइन, भारतमा पनि सिनेमा हलहरु बन्द भएका छन्।