फिल्म ‘नाइके’ निर्देशन गरेर असफता खेपेका निर्देशक नेत्र गुरुङ पुन फिल्म निर्देशनको लागि सुरिएका छन्। उनको निर्देशनमा फिल्म ‘खैला-बैला’ निर्माण हुने भएको छ।
नयाँ वर्ष २०७७ को अवसर पारेर निर्देशक गुरुङले नै फेसबुकबाट फिल्मको निर्माण घोषणा गरेका हुन्। नयाँ वर्षको शुभकामना दिदैँ खैला-बैला बन्न लागेको उनले फेसबुकमा पोष्ट गरेका छन्।
फिल्मको लागि अहिलेसम्म कोही कलाकार पक्का भएका छैनन्। अडिसन गरेर नै फिल्ममा कलाकारहरु छानिने निर्देशक गुरुङको भनाई छ। उनका अनुसार फिल्ममा नयाँ तथा पुराना पुस्ताका कलाकारहरु देखिनेछन्।
फिल्मका लागि प्राविधिकहरु पनि पुर्ण रुपमा पक्का भइसकेका छैनन्। कलाकार र प्राविधिकको छनोटपछि फिल्मको औपचारिक निर्माण घोषणा गरिने छ।
निर्देशक गुरुङकै कथा तथा पटकथा रहने यस फिल्म ‘नेत्र इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण हुनेछ। अहिले निर्देशक गुरुङ फिल्म लेखनमा व्यस्त छन्।