दुई सन्तानकी यी ३५ वर्षीया आमा वकिल थिइन्। जसले सन्तान जन्माएको दोस्रो दिननै कानुनको परीक्षामा बसेर सबैलाई चकित पारिदएकी थिइन्।
उनको अदम्य साहसको चर्चा यतिले पनि पुग्दैन। चट्टानहरुको पर्वतमा उनले सय माइलको दौड पुरा गरेकी थिइन्। बोस्टन म्याराथन दुई पटक उनले पुरा गरेकी थिइन्। हिउँमा चिप्लेटी खेल्न (स्की) पनि उनी त्यत्तिकै सिपालु थिइन्। पानीमा पौडनु त झन ठूलो कुरै थिएन। तर, चेल्सी रसेल त्यसैमा चुकिन्।
हो, उनको मुटुमा भने केही समस्या थियो।
यसकै कारण गत साता उनले दुइ वर्षे छोराको ज्यान बचाउने प्रयास गर्दा आफ्नो जीवन समाप्त पारेको उनका प्रत्यक्षदर्शी आफन्तहरु बताइरहेका छन्।
सुरुमा छ्वाप्ल्याङ आवाज आयो, त्यसपछि चिच्याएको सुनियो, त्यसपछि फेरि छ्वाप्ल्याङ्ग आवाज आएको थियो।
केहि समयअघि मात्र श्रीमान त्यागेकी रसेलले भर्खरै उनको सपनाको घर किनेकी थिइन्। डेनभर पोष्टका अनुसार त्यसैको खुसीयालीमा गर्मीको विदा मनाउन उनी परिवारसँग मनमोहक पावेल ताल पुगेकी थिइन्। युटाह र एरिजोना राज्यको सिमानामै पर्ने यो थुप्रै माइल परसम्म सफा पानीले भरिएको सुन्दर ताल रातो चट्टानी पर्वतले घेरिएको छ।
त्यसै तालमा रसेलको परिवार प्रतिघन्टा आठ माइलको दरले हुइँकिरहेको बोटमा सवार थियो। उनकी आमा र भाइ पनि बोटमै थिए भने दुई वालकहरु छतमै खेलिरहेका थिए। ठीक त्यतिनै बेला अचानक उनका दुइमध्ये एक छोरा, त्यो पनि दुई वर्षे वालक अचानक पानीमा झरे।
रसेल केहि सोच्दै नसोचि पानीमा हाम्फालिन् र छोरालाई पछ्याउन थालिन्। त्यतिबेला छोरा पानीको सतहमै देखिइरहेका थिए। त्यतिबेला उनको छोराले लाइफ ज्याकेट लगाएका थिएनन्। अधिकारीका अनुसार रसेल स्वयंले पनि लाइफ ज्याकेट लगाएकी थिइनन्। उनले बच्चालाई छातीमा च्याप्प समातिन्।
तर, उनले बच्चालाई समातेको ठाउँमै पुगेर उद्दार गर्न रसेलको परिवारलाई पाँच मिनेट लाग्यो। त्यसमा पनि बोटको इन्जिन बन्द गर्नुसक्नुअघि यसले आमाछोराको छेउमा केहि क्षण चक्कर लगाएको सान हुवाँ काउन्टी अफिसले प्रतिवेदनमा जनाएको छ।
त्यतिखेरै रसेलका भाइ केम्यान हुड पनि पानीमा हाम्फाले। तर, तत्कालै उनलाई आमा छोरा निकै टाढा रहेको महशुस भयो। उनले सानो मोटरबोटलाई डोरीले बाँधेरै आफूतर्फ तान्दै थिए। यस्तोमा उनले बोटबाट अलग हुन चाहे। तर, गाँठो निकै कस्सीएको थियो। उनले त्यसलाई चक्कुले काटेर अलग पारे। यति गरिसकेर आमाछोराको नजिकै पुग्दा उनकी दिदी बेहोस भइसकेकी थिइन्। यस्तो अवस्थामा पनि उनकी दिदीले छोरालाई भने पानीको सतहभन्दा माथि नै उठाइरहेकी थिइन्। हुडले दिदीको छातीमा च्यापिएका भान्जालाई उठाए। बालक सकुशलै भएकाले चिच्याउन थाल्यो।
उता रसेल भने झुकिसकेकी थिइन्।
हुडले दिदीलाई पनि बोकेर बोटमा राखे। मुखमा फुकेर स्वासप्रश्वास नियमित गराउने कोशिस गरे। दिदीको जीवन बचाउन उनले थप आधा घन्टा अनेक यत्न लगाए। तर, दिदी ब्यूँतिनन्। उनलाई मृत घोषित गरियो।
‘हाम्रो सानो परिवारले जीवनकै गजब सप्ताह मनाइरहेका थियो,’ रसेलकी आमा त्रिसा हुडले भनिन्, ‘अचानकको यो दुर्घटना भयावह भइदियो।’
रसेलले आफ्नो छोरालाई बचाउन यसरी जीवन समर्पित गरेको घटनाले प्रहरीहरु पनि भावविव्हल बन्न पुगेका छन्।
रसेलका पितालाई पहिलोपटक हृदयाघात ठीक ३५ वर्षकै उमेरमा भएको थियो। उनको निधन भने तीन वर्षअघि भएको थियो। पिताको निधनपछि रसेलले नै परिवारलाई बाँधेर राख्दै आएकी थिइन्। यो घटनाले एकपछि अर्को दुःख परिस्थिती परिवारले बेहोर्नुपरेको रसेलकी आमाले बताएकी छिन्।
केटाकेटीमै मुटुको समस्या बेहोरेपछि रसेलले बाँचुन्जेल हृदयरोग सम्वन्धि गतिविधिमा आफुलाई समर्पित गर्दै आएकी थिइन्। उनका साथीहरु र परिवारले जनाएअनुसार उनी ‘अमेरिकन हर्ट एशोसिएसन अफ डेनभर’की सक्रिय स्वयंसेवी थिइन् भने हृदयरोग पीडित युवाहरुले चलाएको अर्को संस्था ‘योंग हटर्स्’की संस्थापक सदस्यसमेत थिइन्।
रसेल कार्यरत संस्था ‘वेलबोर्न सुलिभान मेक एण्ड टुली’ले पनि उनी एक प्रतिभाशाली वकिल, असाधारण खेलाडी, मिलनसार साथी हुनुका साथै यी सबैभन्दा अझ बढी मायालु आमा रहेको वेबसाइटमा उल्लेख गरेको छ। ‘उनको अभावलाई हामी अमिलो मन लिएर सँधै महशुस गरिरहने छौं,’ वेबसाइटमा लेखिएको छ।
युनिभर्सिटी अफ डेनभरबाट पढाइ पुरागरेकी उनको जन्म र हुर्काइ पनि डेनभरमै भएको थियो।
‘मेरो शौभाग्य हो मैले यति असल छोरीको साथ ३५ वर्षसम्म पाएँ,’ डेनभर पोष्टसँग कुरा गर्दै उनकी आमाले भनिन्।
रसेलले पाँच र दुई वर्षका दुइ बच्चा छाडेर गएकी छिन्। -सेतोपाटी