
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस हङकङ नेपाल २०२६’ को उपाधि दीपमाला खरेल ढकालले जितेकी छन् । हङकङको इटन होटलमा गत बिहीबार आयोजित ‘ग्रान्ड कोरोनेसन’मा उनलाई ताज पहिराइएको हो। उनलाई ‘मिस नेपाल वर्ल्ड २०२४’ की विजेता आश्माकुमारी केसीले ताज पहिराइ दिएकी थिइन्।
दीपमालाले अब २०२६ मा आयोजना हुने ‘मिस नेपाल’ प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछिन्। यसपटक दीपमाला सिधैँ मिस हङकङ एपोइन्ट भएकी हुन्। आयोजकका अनुसार प्रतियोगिताको गरिमा, विश्वसनीयता र निष्पक्षतालाई प्राथमिकताका साथ हङकङबासीहरुले उक्त निर्णय गरेको हो।
उपाधि पाएपछि उनले भनिन् ‘हङकङलाई विश्वसामु चिनाउन प्रयास गर्नेछु। मलाई खुसीसँगै अधिक जिम्मेवारको अनुभूति भएको छ।’
दीपमाला विश्वकै ठूला लगानी कम्पनीमध्ये एक ब्ल्याक रकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छिन्। हङकङमै जन्मेर हुर्किएकी उनले त्यहीँ आफ्नो अध्ययन पूरा गरेकी हुन्।
व्यावसायिकसँगै दीपमाला बहुआयामिक व्यक्तित्वकी धनी छिन्। उनी हङकङ म्याराथनमा सहभागी धावक, तेक्वान्दो खेलाडी तथा कुशल कार्यक्रम प्रस्तोता टेड स्पिकर, रन वे मोडलिङ, हङकङ टोस्टमास्टरसमेत हुन्।
कार्यक्रममा द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए। ‘मिस हङकङ नेपाल २०२६’ हिडन ट्रेजरले एपोन्ट गरेको हो।


