काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण नेपाली चलचित्र उद्योग अति प्रभावित बनेको भन्दै चलचित्रकर्मीहरूले सरकारसँग राहतका लागि अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका छन् ।
चलचित्रसंग आवद्ध विभिन्न संघ संस्थाहरूले पहिलो चरणको संक्रमणदेखि थला परेको चलचित्र उद्योगलाई माथि उकास्न सहयोगका लागि सरकारलाई आग्रह गर्दै आएका छन् ।
“प्रदर्शनको तयारीमा रहेका ३५ चलचित्र, छायांकन समाप्तगरी पोस्ट–प्रोडक्सनमा रहेका २२ चलचित्र र केही प्रतिशत छायांकन गरी अड्किएक २५ चलचित्र गरी हाल कोरोना महामारीका कारण जम्मा ८२ चलचित्रको काम ठप्प भएको छ । यी चलचित्रहरूको लागत करिब एक अर्ब ७५ करोड हुन आउछ जुन डेढ वर्षदेखि फ्रिज भैरहेको र त्यसको लगानीको जोखिम (बैंकको सावाँ ब्याज) चलचित्र निर्माताहरूले खेपिरहेका छन्,” ज्ञापनपत्रमा भनिएको छ ।
राष्ट्र बैंकबाट जारी गरिने मौद्रिक नीतिमा समेट्दै तीन वर्ष पछिबाट साँवा ब्याज बुझाउन सुरु गर्नेगरी ७ वर्षका लागि सुलभ कर्जा प्रवाह गर्ने व्यवस्थाको माग गर्दै चलचित्र चलचित्रसंग आवद्ध विभिन्न संघ संस्थाहरूले ज्ञापन पत्र बुझाएका हुन् ।