काठमाडौं- बिहीबार बलिउड अभिनेता सञ्जय दत्त आफ्नो जन्मदिन मनाइरहेका छन्। उनले आफ्ना प्रशंसक, आफन्त तथा सहकर्मीहरुबाट शुभकामना तथा थरिथरिका उपहार पाइरहेका छ्न्।
दत्तले जन्मदिनमा पाएको सबैभन्दा विशेष उपहार भने केजीएफ २ को पोष्टर रहेको बताएका छन्। केजीएफको सफलतापछि यसको दोस्रो भाग केजीएफ २ बनेको छ। यसलाई उनको बहुप्रतिक्षित फिल्मको क्याटागोरीमा समेत राखिएको छ।
कन्नड भाषामा बनेको अहिलेसम्मकै महंगो फिल्म मानिएको केजीएफ २ मा सञ्जयले अधिरा पात्रको खलनायक भूमिका निभाउँदैछन्। अधिराको लुक्सकै कारण पनि उनका फ्यान फिल्मको तिब्र प्रतिक्षामा छन्।
दत्तको जन्मदिनको अवसरमा सार्वजनिक भएको पोष्टरमा सञ्जय हातमा तलवार बोकेर लडाकुको भूमिकामा देखिएका छन्।
सिनेमालाई प्रशान्त नीलले निर्देशन गरेका छन्। फिल्ममा यश र श्रीनीधि शेट्टी प्रमुख भूमिकामा छन्। फिल्ममा रविना टन्डन पनि मुख्य भूमिकामा देखिने छन्।