काठमाडौं । किरण गजमेर सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका छन् । शनिबार मध्यरातमा भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बन्न सफल भएका हुन् । उनले उपाधीसँगै २५ लाख रुपैयाँ जितेका छन् । उनी कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् । सर्वाधिक भोट मार्फत विजेता बनेका उनले आफूले पुरस्कारमा पाएको २५ लाख रकममध्येबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका छ्न।
विगतमा आफूले शरणार्थी जीवन बिताउँदा उपचारकै अभावमा हजुरआमा गुमाएको स्मरण गर्दै गजमेरले एम्बुलेन्स सहयोग गर्ने बताएका हुन्।
शरणार्थी क्याम्पमा जन्मिएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएको अनुभव गरेका छन् । ‘मैले नागरिकता पाएको थिइनँ । तर यो ट्रफी नागरिकता हो मेरो लागि,’किरणले भनेका छन् । हाल अमेरिकामा बस्दै आएका किरण झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मेका हुन्। उनका बुवा भुटानबाट लखेटिए पछि मुलथलो नेपाल आइपुगेका थिए। किरणको बाल्यकाल खुदुनाबारी शिविरमा बित्यो। अमेरिका लगायत विभिन्न ८ देशले आफूहरुले संरक्षण दिने भनेपछि किरण १४ वर्षको उमेरमा परिवारसहित अमेरिका पुगेका थिए।