काठमाडौं । नेपाल चलचित्र कलाकार संघको संयोजनमा चलचित्रकर्मीहरूले कोरोना बिरुद्धको खोप लगाएका छन् । २०७८ सालको प्रारम्भ देखिनै नेपाल चलचित्र कलाकार संघले सम्पूर्ण चलचित्रकर्मीहरूलाई कोभिड बिरूद्धको खोप लगाउनका लागि प्रयास गरेको अभियान श्राबण २४ गते आइतबार कोभिड १९ बिरुद्धको भेरोसेल खोपको पहिलो मात्रा प्रदान गर्दै उक्त दिनको कार्यक्रम सम्पन्न भएको छ । सरकारले चलचित्रकर्मीहरूलाई दोस्रो मात्राको भेरोसेल खोप पनि चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाएको संघका प्रवक्ता मोहन निरौलाले बताएका छन ।
चलचित्र बिकाश बोर्डको समन्वयमा नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्रबिधिक संघ, नेपाल चलचित्र द्वन्द कलाकार संघ, नेपाल चलचित्र नृत्य संघ, सांगितिक संघ, आदिवाशी जनजाती चलचित्रकर्मी महासंघ, नृत्य निर्देशक संघ नेपाल लगायतका चलचित्रका पेशागत बर्गीय संघ/संस्थाको साथ सहयोगमा नेपाल चलचित्र कलाकार संघ (FAAN) को आयोजनामा पाटन स्थित अशोक पार्टी प्यालेसमा बिशेष प्राथमिकताका साथ पन्ध्रसय छब्बिस चलचित्रकर्मीले कोभिड बिरूद्धको खोप लगाएका हुन ।
खोप केन्द्रमा आयोजना गरिएको कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले कोभिडविरुद्धको खोप महत्वपूर्ण भएको र यस कार्यक्रमले आमजनतामा सचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले उक्त जिल्लामा दुई लाख ९२ हजार नागरिकलाई पहिलो तथा दुई लाख १० हजारलाई दोस्रो खोप लगाइएको अभिलेख प्रस्तुत गर्दै चलचित्रकर्मीहरूको अभियानलाई आफ्नु तर्फबाट सदैब सहयोग रहने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कलाकारिता गर्नेहरु धेरै क्षेत्रमा हिंड्नुपर्ने भएकोले यो कार्यक्रमले कलाकारलाई समेटेको जनाइन्। सत्यालले भनिन्, “खोप लगाएकालाई कोभिड भएपनि नर्मल हुँदोरहेछ, मैले पनि खोप लगाएँ तर कोभिड भएपनि मलाई गाह्रो भएन, खोप लगाएपछि कोभिड भएका साथीहरु त्यत्ति आत्तिनुपर्ने रहेनछ, कलाकारितामा काम गर्ने साथी धेरै क्षेत्रमा हिँड्नुपर्छ, धेरै मानिससँग घुलमिल हुनुपर्छ । त्यसैले, कलाकार संघले चालेको अभियान उचित छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल,खोप शाखाका प्रमुख झलक गौतम, निर्देशक अनिल थापा लगायतले खोपसम्बन्धी जन चेतना तथा यसको प्रभावकारिताका बारे आआफ्नु धारणा व्यक्त गरेका थिए ।
सङ्घका अध्यक्ष रवीन्द्र खड्काले महामारीको समयमा सबै नागरिकलाई सरकारले छिटो भन्दा छिटो खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिदै कोरोना विरुद्धको खोप लगाएपछि फिल्म क्षेत्र पुरानो लयमा फर्किने बिश्वास व्यक्त गरे । वरिष्ठ कलाकार तथा संघका उपाध्यक्ष एब्म प्रवक्ता मोहन निरौलाले कलाकार संघले विभिन्न समयमा गरेको सामाजिक कार्यको उदाहरण प्रस्तुत गर्दै खोप अभियानबाट समाजमा खोपको आबश्यकता र खोप लगाउनु पर्छ भन्ने सकारात्मक सन्देश सम्प्रेशण भएको बिश्वास व्यक्त गरेका थिए ।
कलाकार संघले कोभिड बिरूद्धको खोप उपलब्ध गराउन सहयोग गरेकोमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय,तत्कालिन स्वास्थ्य सचिब लक्ष्मण अर्याल,खोप शाखाका प्रमुख झलक गौतम, IHIMS/ IMU/MD का प्रमुख अनिल थापा,स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलाल ,स्वास्थ्य मन्त्रालयका अधिकृत नविन खडका लगायत खोप कार्यक्रममा सहभागी सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई सम्पुर्ण चलचित्रकर्मीको तर्फबाट आभार व्यक्त गरेको छ साथै श्रावण २४ गते चलचित्रकर्मीलाई उत्साहबर्धन गर्न अतिथिको रूपमा आउनु भएका ललितपुर महानगरपालिकाका उप मेयर गीता सत्याल,ललितपुरका प्रमुख जिल्ला अधिकारी डुण्डी निरौला,चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल लगायत अतिथि एवं चलचित्रकर्मीहरूलाई ह्रदय देखि नै अभिवादन व्यक्त गरेको कलाकार संघले जनाएको छ ।
कोभिड बिरूद्धको खोप लगाउन बिश्वासका साथ उत्साहजनक रूपमा चलचित्र क्षेत्रका चर्चित अभिनेता अभिनेत्री, निर्देशक, छांयाकार लगायत प्रबिधिक ,नृत्य कलाकार ,नृत्य निर्देशक, द्वन्द कलाकार, द्वन्द निर्देशक,सिनेमा घरका प्रबिधिक , सिनेमा घर संन्चालक, चलचित्रका निर्माता, चलचित्रका बितरक, गायक गायिका, संगितकार लगायतको उत्साहजनक सहभागिता भएकोमा कलाकार संघले सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
यस अघि किर्तिपुर आर्युवेदिक अस्पतालमा संघका अध्यक्ष रविन्द्र खडकाको अनुरोधलाई स्वीकार गरी १०० जना कलाकारहरूलाई खोप उपलब्ध गराउन सहयोग गरेकोमा डा श्याम उप्रेती र डा तारानाथ पोखरेललाई पनि संघले आभार प्रकट गरेको छ ।