काठमाडौँ । चितवनको भरतपुरमा गठबन्धनको तर्फबाट मेयरको उमेद्वार बनेकी माओवादीकी रेनु दाहालको पक्षमा कमेडियन सन्दीप क्षेत्रीले मञ्चबाटै भोट मागेपछि सामाजिक सञ्जालमा उनका फ्यानहरुले गालीको वर्षा गराएका छन् । बिहीबार चितवनमा भएको गठबन्धनको सभामा सन्दीपले आफू कुनै पार्टीको झण्डामा नरहेको भन्दै रेनुको विकास देखेर भोट माग्न आएको बताएका थिए ।
सन्दीपको भाषण सामाजिक सञ्जालमा भाइरल भएपछि कला क्षेत्रकै कतिले सन्दिपको भाषणलाई नरुचाएको कुरा फेसबुकमा उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा सन्दीपको लोकप्रिय टेलिभिजन शो ‘ह्वाट ए फ्लप नहेर्ने पनि चेतावनी दिएका छन् । कतिपयले भने कलाकारले आफ्नो धर्म निर्वाह गरेको भन्दै उनीप्रति सकारात्मक देखिएका छन् ।
भलै सन्दीपले भने आफू कुनै पार्टीको नभएर रेनुको राम्रो कामको प्रशंसा गर्दै भोट मागेको दाबी गरेका छन् । उनले रेनुलाई भनेको कुरालाई राजनीतिक प्रपोगाण्डा बनाउन आवश्यक नरहेको तर्क दिएका छन् ।