चलचित्र विकास बोर्ड भनेको नेपाली चलचित्रक्षेत्रको सरकारी संस्था हो । जसले चलचित्र क्षेत्रको विकास र स्तर उन्नतीका लागि काम गर्ने गर्छ । अझ यो भनौ चलचित्र विकास बोर्डको नियमभित्र रहेर चलचित्र निर्माण देखी प्रदर्शन गर्नु पर्छ । सबैक्षेत्रमा राम्रा र नराम्रा कुराहरु पक्कै हुन्छन् तर नियम नै नमान्ने प्रवृति भने नेपाली चलचित्र क्षेत्रमा पनि खुबै मौलाइरहेको छ । जसलाई चलचित्र विकास बोर्डले पनि ननिहालेको होइन । त्यसैले होला चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईका अभिव्यक्तिहरु पछिल्लो समय आक्रामक बन्दै गएका छन् । केही महिना अगाडी राजधानीमा आयोजित ईसान अवार्डको घोषणा सभामा राजकुमार राईले दिएको अभिव्यक्तिले खुबै चर्चा पाएको थियो ।
उनले भनेका थिए—“अवार्ड आयोजकका सदस्य नै अवार्डको जुरी नबन्नुहोस्, जसले गर्दा अवार्ड निपक्ष रहन सक्दैन ।” उनको यो अभिव्यक्तिलाई सबैले स्वागत गरेका थिए । त्यस्तै केही दिन अगाडी पोखरामा सम्पन्न आठौ डि सिने अवार्डमा उनले अरुलाई खुसी पार्न अवार्ड कार्यक्रम नगर्नुहोस् भन्दै दिएको अभिव्यक्तिले पनि खुबै चर्चा पायो । अध्यक्ष राईले दिएका अभिव्यक्तिहरु एकपछि अर्को सेलाउन नपाउँदै फेरी उनले वुधबार राजधानीमा आयोजित एक चलचित्रको पत्रकार सम्मेलनमा आफ्ना केही आक्रोश पोख्न भ्याए । उनले राम्रो चलचित्र बनाए दर्शकहरुले सधै साथ दिने बताउँदै नेपाली चलचित्रलाई नै असर पुग्ने खाल्का काम नगर्न पनि सल्लाह दिएका छन् ।
उनले कार्यक्रममा बोल्दै भने —“चलचित्र राम्रो बनाउँनुहोस् दर्शकहरुले सधै तपाईहरुलाई साथ दिनेछन् । राम्रो चलचित्र बनाउनु भयो भने हल प्रशस्तै पाउनु हुन्छ त्यसैले नियम मिचेर काम गर्दा ठुलो भइन्छ कि भन्ने मानसिकताबाट टाढा रहनुहोस् ।” उनले चलचित्रक्षेत्रको हकहितका लागि काम गर्ने चलचित्रकर्मीहरुलाई सधै चलचित्र विकास बोर्ड साथ दिन तयार रहेको बताउँदै सबैले नियम मानेर अगाडी बढ्दा नै राम्रो हुने बताए । चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका राजकुमार राईको यो अभिव्यक्ति शुक्रबार रिलिज गर्नु पर्ने चलचित्र अन्य दिनमा रिलिज गर्ने निर्मातामाथि पोखिएको सजिलै अनुमान लगाउन सकिन्थ्यो । अध्यक्ष राजकुमार राईले सबैले चलचित्र क्षेत्रको हित सोच्ने हो भने सबैलाई नियममा रहेर काम गर्न पनि आग्रह गरे । उनले अगाडी भने -‘केही सुधार्नुु छ भने आउनुस् छलफल गरौं राम्रो कुरालाई चलचित्र विकास बोर्डले पनि साथ दिन्छ तर नियम मिचेरै काम गर्ने प्रवृतिले सबैलाई असर गरिरहेको छ ।’