तपाईले “नाइँ नभन्नू ल ३” हेर्नुभएको छ भने उक्त चलचित्रका निर्देशक मुस्कान ढकालको नाम पनि याद गर्नुभएकै होला । किनकी ‘नाइँ नभन्नू ल ३’ मुस्कानले निर्देशन गरेका थिए । महाभूकम्पको बेला प्रदर्शनमा आएको यो चलचित्रलाई दर्शकहरुले रुचाएपनि जुन अनुसार चलचित्रले व्यापार गर्ने अपेक्षा निर्माण पक्षले लिएको थियो त्यो भने पुरा गर्न सकेन् । ‘नाइँ नभन्नू ल ३’ लाई निर्देशक एवं निर्माता विकासराज आचार्यले निर्माण गरेका थिए । चलचित्र ‘नाइँ नभन्नू ल ३’ अन्य श्रृखला भन्दा केही कमजोर भएका कारण विकास आचार्य मुस्कान ढकाल देखी केही रुष्ट हुँदै आएका थिए । तर विकास आचार्यलाई गाह्रो कहाँ पर्यो भन्दा उनले चलचित्र ‘नाइँ नभन्नू ल ४’ को ट्रेलर रिलिज कार्यक्रममा चलचित्र समर लभ निर्देशन गर्ने जिम्मेवारी मुस्कान ढकाललाई दिएको उद्घोष गरेका थिए र त्यही अनुसार यसै बर्ष चलचित्र ‘समर लभ’ बनाउने तयारीमा थिए विकास आचार्य । तर केही दिन अगाडी विकास आचार्यले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै यो बर्ष चलचित्र ‘समर लभ’ नभएर नीरान्जना बन्ने बताए ।
उनले चलचित्र समर लभका लागि नायिका नभेटिएको कारण देखाउँदै ‘नीरान्जना’ निर्माण गर्ने बताएपछि अहिले यो कुराले नेपाली मिडियाहरु खुबै तातेका छन् । तर सिनेखबर डटकमलाई प्राप्त जानकारी अनुसार चलचित्र समर लभका लागि नायिका नभेटिएर होइन निर्देशक मुस्कान ढकालसँग विकास आचार्यको कुरा नमिलेपछि चलचित्रको छायाँकन रोकिएको हो । निर्देशक विकास आचार्यले चलचित्र समर लभ आफैले निर्देशन गर्ने सोच बनाएपछि मुस्कानसँग उनको सम्बन्ध चिसिएको थियो र त्यसै कारण यो बर्ष चलचित्र ‘समर लभ’ बन्न नसकेको स्रोतले सिनेखबर डटकमलाई जानकारी दिएको छ । खबरका अनुसार अर्को बर्ष विकास आचार्य आफै चलचित्र ‘समर लभ ‘निर्देशन गर्ने तयारीमा रहेका छन् ।
चलचित्र ‘समर लभ’ यो बर्ष नबन्नुको पछाडी निर्माता बिच मनमुटाब भएको खबर पनि प्राप्त भएको छ । विकास आचार्य प्रस्तुतकर्ता रहने बताइएको चलचित्र ‘समर लभ’ लाई अष्ट्रेलियाका दुई निर्माता दिनेश पोख्रेल र हरिवोल भण्डारीले निर्माण गर्ने बताइएको थियो । यति सम्मकी चलचित्रको निर्माणपक्षले अष्ट्रेलियाबाट नै नायिका खोज्ने भन्दै खुबै हल्ला खल्ला गरेको थियो । तर अहिले नायिकाको खोजी नभएर निर्माता- निर्माता बिच मनमुटाब र निर्देशक मुस्कान ढकालसँग सम्बन्ध चिसिएको कारण चलचित्र समर लभ बन्न सकेको बताइएको छ । यो चलचित्रको छायाँकन अष्ट्रेलयामा हुने समेत बताइएको थियो । चलचित्र समर लभ सविन भट्टराईद्धारा लिखित चर्चित पुस्तक समर लभमा आधारित रहेको छ ।