नेपाल निर्देशक समाजको अध्यक्षमा पहिलो पटक महिला निर्देशक सुचित्रा श्रेष्ठ विजयी भएकी छिन् । शनिबार चलचित्र विकास बोर्डको सभा हलमा भएको निर्देशक समाजको ११ औं साधारण सभाबाट उनी अध्यक्षमा विजयी भएकी हुन् । उनले अध्यक्षका प्रत्यासी राजु केसीलाई हराएर अध्यक्षमा विजयी भएकी हुन् । मतदानमा निर्देशक सुचित्रालाई ६९ मत परेको थियो भने राजु केसीलाई ३४ मत परेको थियो । त्यस्तै उपाध्यक्षमा रक्षासिंह राणा र दिपक खाँड विजयी भएका छन् । तिन जना उम्मेद्वार रहेको उपाध्यक्ष पदमा प्रमोद भण्डारी ४० मत प्राप्त गरेका थिए ।
यस्तै शेखर खनालले जनकद्विप पराजुलीलाई हराउँदै सचिव पदमा विजयी हासिल गरेका छन् । विश्वमणी घिमिरेले प्रतिद्वन्दी समिर बलामीलाई हराउँदै कोषाध्यक्ष पदमा विजयी भएका छन् । त्यस्तै सहकोषाध्यक्ष पदमा राजु अधिकारी विजयी भएका छन् । उनले आफ्नो प्रतिद्धन्दी शिव घिमिरेलाई हराएका हुन् । सदस्यहरुमा अरुणकुमार प्रधान, समुन्द्र भट्ट, अजित अधिकारी, शानु शाक्य, रञ्जित राना र आरविके शरद विजयी भएका छन् भने यसअघि नै महासचिवमा गोपालचन्द्र लामिछाने र्निविरोध चयन भएका थिए । निर्देशक समाजका तत्कालिन अध्यक्ष दिनेश डिसीले दिएको जानकारी अनुसार १३८ जना निर्देशकले मताधिकार पाएकोमा जम्मा १०३ मत मात्र खसेको थियो ।