रात्रिकालीन मनोरन्जनको ‘हब’ ठमेल पछिल्लो समय लागूऔषध चरेस कारोबारीको केन्द्र बनेको खुलेको छ। ठूलो मात्रामा चरेस कारोबार गर्दा सहजै प्रहरीको नजरमा पर्ने भएपछि कारोबारीले धादिङ, नुवाकोट र मकवानपुरबाट सानो मात्रामा चरेस भित्र्याएर ठमेलमा स्वदेशी र विदेशी पर्यटकलाई बिक्री गर्ने गरेको खुलेको हो।
महानगरीय प्रहरी वृत्त लैनचौरको अनुसन्धानमा यात्रुवाहक सवारीसाधनमार्फत चरेस काठमाडौं भित्र्याएर कारोबारीले ‘स्ट्रिट सेलर’ मार्फत पर्यटकलाई बिक्री गर्ने गरेका छन्।
ह्यान्डीक्राफ्टको कारोबार, गाइड तथा रेस्टुरेन्ट व्यवसायीको आवरणमा कारोबारी ठमेल क्षेत्रमा सक्रिय रहेको वृत्तका डीएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। राठौरका अनुसार ६ महिनाको बीचमा ठमेल क्षेत्रलाई लक्षित गरी चरेस भित्र्याउने ८ जना पक्राउ परिसकेका छन्। उनीहरूबाट १२ किलो चरेस बरामद भएको छ। प्रहरीले शुक्रबार डेढ किलो चरेससहित निसान भट्टचनलाई पक्राउ गरेको छ। ठमेलका चरेस बिक्रीमा संलग्न सुजन क्षेत्रीको पक्राउसँगै उनलाई भट्टचनले चरेस दिएको खुलेपछि प्रहरीले उनको मनमैजुस्थित डेरामा छापा मारेको थियो। वृत्तको टोलीले बिहीबार बाफलका सुजन क्षेत्रीलाई एक किलो चरेससहित पक्राउ गरेको थियो। ठमेलमा हयान्डीक्राफ्ट पसल चलाउँदै आएका उनले पसलबाटै चरेस बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। उनीबाट चरेससँगै चरेस जोख्ने मेसिनसमेत फेला परेको थियो।
अनुसन्धानमा उनलाई सो चरेस भट्टचनले दिने गरेको खुलेपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो। डीएसपी राठौरका अनुसार उनको डेरामा डेढ किलो चरेस भेटिएको थियो। अनुसन्धानमा उनले ठमेलमा बिक्रीका लागि उक्त चरेस मकवानपुरबाट ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
प्रहरीले यसअघि ठमेलमा बिक्रीका लागि ल्याएको २ किलो चरेससहित ट्यांलाफाँटबाट धादिङका कृष्ण मगरलाई पक्राउ गरेको थियो। २ महिना अगाडि धादिङबाट घिउको डिब्बामा लुकाएर ल्याएको ४ किलो चरेससहित उत्तम तामाङ, दिलबहादुर लामा र विशाल पुन ढल्कुबाट पक्राउ परेका थिए।
बालाजुमा नारायणप्रसाद खनाल साढे ३ किलो चरेससहित पक्राउ परे भने रेस्टुरेन्टभित्रै गमलामा गाँजा उत्पादन गरी ग्राहकलाई बिक्री गर्ने गरेको आरोपमा फ्याट क्याट रेस्टुरेन्टमा प्रहरीले छापा मारेको थियो। पक्राउ परेका कारोबारीले ठमेलमा रमाइलोका लागि आउने स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरेर चरेस भित्र्याउने गरेको अनुसन्धानमा देखिएको डीएसपी राठौरले जानकारी दिए। उनीहरूले गाइड, विभिन्न व्यवसायमा संलग्न, ट्याक्सी चालक लगायतको सहयोगमा चरेस बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको छ। उनीहरूले उक्त चरेस गाँजा उत्पादनमा कहलिएको धादिङ, नुवाकोट र मकवानपुरबाट ल्याउने गरेको खुलेको वृत्तका अधिकारीले जानकारी दिए।
हतियार र यौन कारोबार
प्रहरीले ठमेल क्षेत्रबाटै दुई हतियारसहित २ जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले पूर्वसैनिक रनबहादुर ढकाललाई ७ दशमलव ७६ पेस्तोलसहित बालाजुमा पक्राउ गरेको थियो भने कारसाङ लामालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको थियो। आपराधिक योजना बनाउन र लुटपाटका लागि ठमेल क्षेत्रमा साना हतियारसहित आपराधिक गतिविधिमा संलग्न व्यक्ति घुम्ने गरेको सूचनाका आधारमा ढकाल र कारसाङ पक्राउ परेको प्रहरी अधिकारी बताउँछन्।
मसाज र खाना घरको आवरणमा यौनधन्दा चलाउने नयाँबजारको एक खाजा घरमा छापा मारेर प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो। ठमेलका रेस्टुरेन्टमा आएका ग्राहकलाई नायिका र मोडल मिलाइदिन्छु भन्दै लुटेको आरोपमा प्रहरीले ट्याक्सी चालक अनिल तामाङ र दलाल सञ्जीव बोहोरालाई पक्राउ गरेको थियो। १६ वर्षकी किशोरीलाई जबर्जस्ती यौनसम्पर्क गर्न खोजेको आरोपमा साउदी अरेबियन नागरिक र युवती मिलाउने दीपक माझी पक्राउ परेका थिए।