प्रत्येक बर्ष विदेशी भूमीमा आयोजना हुँदै आएको ‘नेफ्टा अवार्ड’ को नवौ संस्करण दुबईमा हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुल आयोजक संस्था चलचित्र प्राविधिक संघले दुबईमा आउँदो डिसेम्बर २३ अर्थात पौष ८ मा ‘नवौ नेफ्टा अवार्ड’ हुने घोषणा गरेको छ । कार्यक्रममा नेफ्टा अवार्डका अध्यक्ष पुष्कर लामा र दुबईको लागी सहकार्य गरेको संस्था स्पेक्ट्रम एड्भरटाईजिङ एण्ड मिडिया कन्सल्टेन्टका तर्फबाट राजकुमार भट्टराईले दुबईमा हुने अवार्डको विषयमा पत्रकारहरुलाई स्पष्ट पारेका थिए ।
‘नवौं नेफ्टा अवार्ड’ लाई स्पेक्ट्रम एड्भरटाईजिङ एण्ड मिडिया कन्सल्टेन्ट र कन्सेप्ट भिजन फिल्म प्रोडक्शन तथा वितरक कम्पनीले सहकार्य गरेका छन् । विगतका बर्षमा ३४ विधामा वितरण गर्दै आइरहेको अवार्ड यसपटक घटाएर २८ विधामा वितरण गरिने भएको छ । चलचित्र प्राविधिक संघले दिएको जानकारी अनुसार यस पटक केही प्राविधिक विधा थप गरिएको छ । अध्यक्ष लामाले कार्यक्रममा भने -‘हाम्रो उद्येश्य प्राविधिक र स्रष्टाको सम्मान नै हो । त्यसैले यो पटक केही प्राविधिकहरुलाई पनि अवार्ड वितरण गर्दैछौ ।’ उनले दिएको जानकारी अनुसार २०७२ मा रिलिज भएका नेपाली चलचित्रहरु हेर्न जुरीहरुले सुरु गरिसकेका छन् ।
नेफ्टा अवार्डको घोषणा कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नवौ संस्करणमा आएको नेफ्टा अवार्डले अब पनि सुधार्दै अगाडी बढ्न नसके विदेशमा अवार्ड गर्नुको कुनै औचित्य नभएको बताए ।
उनले भने -‘खुसी पार्न, भोली त्यो मान्छे काम लाग्छ भनेर अवार्ड दिने प्रवृति अब हट्नु पर्छ । त्यस्ता अवार्ड कार्यक्रमहरुले समग्र अवार्डहरु बदनाम भइरहेका छन् । यदी नेपाली चलचित्रको हकहित र सम्मानका लागि अवार्ड गरिने हो भने निपक्ष्य अवार्ड कार्यक्रम गर्नुस् ।’ नेफ्टा अवार्डमा अफिसियल इभेन्ट पार्टनरको रुपमा एभरेष्ट इन्टरनेशनल कन्सल्टेन्सी एण्ड एचआर सोलुसन र इभेन्ट म्यानेजमेन्टको रुपमा सेभेन स्टार इभेन्ट एण्ड प्रोडक्शनको सहकार्य रहेको छ । नवौं नेफ्टा अवार्डलाई शुभकामना दिन बरिष्ठ चलचित्रकर्मी नीर शाह, महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, बसुन्धारा भुसाल लगाएत उपस्थित थिए । मुल आयोजक संस्था चलचित्र प्राविधिक संघले जारी गरेको विज्ञप्ती अनुसार नवौ नेफ्टा अवार्डमा सहभागी हुन नेपालबाट सयभन्दा बढीको संख्यामा चलचित्रकर्मी, निर्माता, पत्रकारहरु जानेछन् ।