नेपाली चलचित्रका बाघ निर्माता भनेर चिनिने छविराज ओझाले निर्माण गरेको नयाँ चलचित्र ‘किस्मत २’ असोज २१ गते रिलिज हुँदैछ । दशैंलाई लक्षित गरेर प्रदर्शनमा आउन लागेको यो चलचित्रको अहिले दुई गीत निकै चर्चामा छन् । नयाँ हिरो पृथ्वीराज प्रसाईलाई लिएर छविराज ओझाले निर्माण गरेको ‘किस्मत २’ मा शिल्पा पोख्रेल र किशोर खतिवडाको पनि मुख्य भुमिका रहेको छ । ऋषि लामिछाने निर्देशित चलचित्र ‘किस्मत २’ आर्यन सिग्देलको पहिलो डेव्यू चलचित्र ‘किस्मत’को सिक्वेल हो । तर चलचित्र ‘किस्मत २’ मा भने किस्मतका कुनै पनि कलाकारहरु दोहोरिएका छैनन् । निकै बर्ष अगाडी प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘किस्मत’मा रेखा थापा, विराज भट्ट, आर्यन सिग्देलको प्रमुख भुमिका रहेको थियो । ‘किस्मत’बाट नेपाली चलचित्रक्षेत्रमा आर्यनलाई डेव्यू गरेका छवि ओझाले यस पटक पृथ्वीराज प्रसाईलाई डेव्यू गराउँदैछन् ।
आर्यनलाई डेव्यू फिल्म किस्मतले सफलता दिलाएपछि अहिलेसम्म उनले पछाडी फर्केर हेर्नु परेको छैन । अब हेर्न यो बाँकी छ कि किस्मतका कलाकारहरुको अभाव चलचित्र ‘किस्मत २’ हेरिसकेपछि दर्शकहरुले महशुस गर्ने छन् वा छैनन् । धेरैले चलचित्र किस्मत २ निर्माण गर्नुभन्दा अगाडी रेखा थापालाई अभिनेत्रीको रुपमा लिन छवि ओझालाई सल्लाह पनि दिएका थिए । तर छवि र रेखाबिच बैबाहिक सम्बन्ध नै टंगिएको लामो समय भइसकेका कारण त्यो सम्भव भएन र रेखा पनि चलचित्र ‘किस्मत २’ खेल्न राजी भइनन् । खबरका अनुसार किस्मत २ खेल्नका लागि छवि ओझाले रेखालाई प्रस्ताव नै राखेका थिएनन् त्यसपछि छविराज ओझाले लज्जा, हवल्दार सुन्तलीकी अभिनेत्री शिल्पालाई खेलाए । दशैंलाई लक्षित गरेर असोज २१ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको किस्मतको सिक्वेल ‘किस्मत २’ मा सन्तोष पन्त, सपना श्रेष्ठ, रस्मि भट्ट आदिको पनि अभिनय रहेको छ ।