
काठमाडौं । फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर सङ गाएका बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन्। उनलाई फिल्मका निर्देशक चन्द्र पन्त, कलाकारहरु पल शाह, उषा उप्रेती, सिम्रन पन्तले उक्त पुरस्कार प्रदान गरेका छन्।
एक महिनाअघि ‘आ बाट आमा’निर्माण टिमले उक्त गीतमा आधारित कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको थियो। सहभागीले आ–आफ्नो विधामा तयार पारेको भिडियो माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्ने नियम राखेको थियो। सोही बमोजिम नै दिप्सुले पुरस्कार हात पारेका हुन्।
आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्म ‘आ बाट आमा’को उक्त गीत दर्शकले सर्वाधिक रुचाएको गीतमा पर्दछ । निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ। फिल्म गत माघ १६ गतेबाट रिलिज भएको हो ।





