
काठमाडौं । फागुन १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर गरिएको छ। बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले प्रिमियरको आयोजना गरेका हुन्।
प्रिमियर शोमा सिनेमा निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, जयकिशन बस्नेतलगायतका फिल्मकर्मीको उपस्थिति थियो । फिल्म हेरेपछि निर्देशक तुलसी घिमिरेले फिल्म समग्रमा हिपोक्रटिङ भन्दा पनि एउटा पेन्टिङजस्तो बनेको प्रतिक्रिया दिए। उनले फिल्मले एउटा पैतृक घरलाई बुकुरो शब्दले राम्रोसँग अर्थ्याएको बताए। ‘फिल्म हेरिरहँदा यसले मलाई पुरानो घरमा पु¥यायो। लक्ष्मी जीको अभिनयले मेरी आमालाई सम्झेँ,’ उनले भने।
निर्माता तथा वितरक छविराज ओझाले पनि फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्। अभिनेता तथा निर्देशक जयकिशन बस्नेतले फिल्मलाई कुनै उपन्यास पढिरहेजस्तो भान भएको अनुभव सुनाए। फिल्ममा प्रत्येक कलाकारको अभिनय राम्रो गरेको उनले बताए। ‘यो फिल्ममा कमेडी पनि छ। पारिवारिक सम्बन्धको कुरा र सबै कलाकारको अभिनय एकदम मन प¥यो। लक्ष्मी दिदीको अभिनय मनमा बस्ने खालको छ। उहाँले यमराजसँग कुरा गरेको, मुक्तिनाथको यात्रा सबै रमाइलो तरिकाको छ,’ उनले भने।
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको सिनेमा घरसँगै परिवार र समाजको कथामा बनेको छ। पुरानो थाकथलोलाई बचाइराख्नुपर्छ। साथै पारिवारिक सम्बन्ध र प्रेम जीवनमा चिना नमिल्दाको अड्चनलगायतका विषय समेटिएको छ।
फिल्ममा लक्ष्मी गिरी, आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारले फिल्ममा अभिनय गरेका छन्।
रुबी सेन सिंहले लगानी गरेको फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन्। फिल्म मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएको छ।





