
काठमाडौं । फागुन १ गते मुहूर्तसगै छायांकनमा गएको कलाकार तथा निर्देशक नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ को यति बेला राजधानीमा धमाधम छायांकन भइरहेको छ । ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विजय मल्ल स्मृति प्रतिष्ठान, मल्ल परिवार र फिल्म युनिटले नाट्येश्वरीको पूजा गरी फिल्मको सफलताको कामना गरेका छन्।
फिल्ममा यो पूजा सम्पन्न गरेर छायांकनको सफल र बाधारहित प्रवाहको कामना गरिएको हो। विशेषगरी फिल्म, नाटक वा सांस्कृतिक कार्यक्रम सुरु गर्नुअघि सफलता, समृद्धि र बाधा रहित कामना गर्नका लागि यो पूजा गरिन्छ।
मनोवैज्ञानिक विषयवस्तुमा आधारित यस फिल्ममा मुख्य कलाकारको रूपमा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी रहेका छन्। साथै रमेश बुढाथोकी पनि मुख्य भूमिकामा देखिनेछन्।
फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भइरहेको छ। कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान, लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन), छायांकन शिवराम श्रेष्ठ, सङ्गीत युग भुसाल, कोरियोग्राफी रामजी लामिछाने, निर्माण व्यवस्थापन भोला सुबेदी, र मुख्य सहायक निर्देशन सगर बोहराले सम्हाल्नेछन्। पटकथा तथा संवाद निर शाह, प्रजाल दुलाल, सुगम दुलालले संयुक्त रूपमा तयार गरेका हुन्।




