
काठमाडौं । हाँस्य कलाकार अर्जुन घिमिरेको डेब्यू निर्देशकीय फिल्म ‘झरीपछिको इन्द्रेणी’ काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा र्यापर बालेन शाहको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गत पौष ४ गते हलमा रिलिज भएको यो फिल्म २ महिनामै डिजिटल प्लेटफर्म युट्युबमा सार्वजनिक भएको हो । यो फिल्मको एक गीतमा बालेनको पनि स्वर छ ।
नेपालमा बढ्दो भ्रष्टचार, बेथिती र विसंगतिविरूद्धको कथा समेटिएको फिल्म अर्जुनसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी), विमोचन दवाडी, जेसिका पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको फिल्मको छायांकन बुद्ध थापाले गरेका हुन् ।


